आज विजयादशमी: टीकाको उत्तम साइत बिहान १०:२६ बजे

spot_img

बडादशैंको मुख्य दिन आज विजयादशमी, घर-घरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर हर्षोल्लासका साथ मनाइँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज देवी विसर्जनको साइत बिहान ८:४९ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान १०:२६ बजे उत्तम रहेको जनाएको छ। समिति अनुसार टीका ग्रहण गर्दा उत्तर-पश्चिम वा पश्चिम फर्केर बस्नु उत्तम मानिन्छ।

उत्तम साइत १०:२६ बजे भए तापनि सर्वसाधारणका लागि विजयादशमीका दिनभरि नै टीका लगाउन कुनै बाधा नरहेको पञ्चाङ्ग निर्णायक समितिले स्पष्ट पारेको छ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि पूजा-आराधना गरिएको नवदुर्गाको प्रसादस्वरूप आज अग्रज तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। मान्यजनले निधारमा टीका र कानमा जमरा लगाइदिँदै दीर्घायु, आरोग्य र सफलताको आशीर्वाद दिने गर्दछन्।

नेपालका कतिपय क्षेत्रमा विजयादशमीका दिन मात्र टीका लगाइने भए तापनि देशका अधिकांश भागमा आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम जारी रहन्छ।

सम्बन्धित समाचार

ताजा समाचार