लगातारको अविरल वर्षाका कारण मनाङको सदरमुकाम चामे र आसपासका क्षेत्रमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढी बस्तीमा पस्नुका साथै लेदो र लेदोसहितको पहिरोले दर्जनौँ घरहरूमा क्षति पुर्याएको छ भने केही घरहरू बगाएको छ।
बाढीका कारण चामे जोड्ने मुख्य काठे पुलहरू बगेका छन् भने कोतो र तिल्चे जोड्ने पुलहरूमा पनि क्षति पुगेको छ। सडक पूर्वाधार पूर्ण रूपमा भत्किएपछि आवतजावत ठप्प भएको छ।
राति अचानक बस्तीमा बाढी र लेदो पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन डाँडा र नजिकैका सुरक्षित सरकारी भवनहरू, अस्पताल तथा प्रहरी ब्यारकमा शरण लिन पुगेका थिए। हालसम्म कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन।
बाढी र पहिरोले सडक सम्पर्क बिच्छेद गराएपछि चामे क्षेत्रमा घुम्न आएका ठूलो संख्याका पर्यटकहरू अलपत्र परेका छन्। भौगोलिक रूपमा सम्पर्क विच्छेद भएको र खाद्यान्न तथा कपडाको अभाव हुन थालेकाले स्थानीयले अलपत्र पर्यटक, बिरामी, बालबालिका र वृद्धवृद्धाहरूलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गर्न सरकारसँग माग गरेका छन्।

