जुलाई २०२६ को सुरुवातसँगै उत्तरी आयरल्यान्डको मोइगासेलमा एक विवादास्पद दृश्य सार्वजनिक भयो।
त्यहाँ हरेक वर्ष परम्परागत रूपमा मनाइने ‘इलेभेन्थ नाइट’ बोनफायरका लागि काठको ठूलो थुप्रोमाथि एउटा नक्कली मस्जिदको ढाँचाराखियो, जसमा ‘हाम्रो सिमाना सुरक्षित गरौं’ र ‘कट्टरपन्थी इस्लामको खतरा अन्त्य गरौं’ जस्ता राजनीतिक ब्यानरहरू झुण्ड्याइएका थिए। यो घटना सार्वजनिक भएलगत्तै बेलायती सरकार, अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल र स्थानीय राजनीतिज्ञहरूले यसको तीव्र भर्त्सना गर्दै यसलाई ‘घृणा फैलाउने निन्दनीय कार्य’ भनेका छन् र यस विषयमा प्रहरीले एक ५६ वर्षीय व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
तर, यस प्रकारको प्रदर्शन एक्लो घटना होइन। यसले हालका वर्षहरूमा बेलायत र विशेषगरी त्यहाँका केही स्थानीय समुदायहरूमा बढ्दै गइरहेको आप्रवासी र मुस्लिम विरोधी भावनाको गहिरो सामाजिक सामाजिक-राजनीतिक द्वन्द्वलाई दर्साउँछ।
हालका वर्षहरूमा बेलायतमा कानुनी र गैरकानुनी (विशेष गरी साना डुङ्गा चढेर इङ्ग्लिस च्यानल पार गर्ने) आप्रवासीहरूको संख्यामा तीव्र वृद्धि भएको छ। स्थानीय दक्षिणपन्थी र ‘लोयलिस्ट’ समूहहरूको दाबी छ कि सरकारले सिमाना नियन्त्रण गर्न नसक्दा देशको जनसांख्यिकीय सन्तुलन, सार्वजनिक सेवा, आवास र अर्थतन्त्रमा ठूलो दबाब परेको छ। मोइगासेलमा राखिएको “सिमाना सुरक्षित गरौं” भन्ने ब्यानरले सरकारको यही असफल आप्रवासन नीतिको विरोध गरेको आयोजकहरूको भनाइ छ।
बेलायतको रोदरह्याम, रचडेल लगायतका शहरहरूमा विगतमा भएका ‘चाइल्ड सेक्सुअल एक्सप्लोइटेसन’ वा ग्रुमिंग ग्याङ्गका घटनाहरू, जसमा मुख्यतया पाकिस्तानी मूलका केही मुस्लिम पुरुषहरूको संलग्नता देखिएको थियो, त्यसले बेलायती समाजमा गहिरो अविश्वास पैदा गर्यो। यद्यपि ती घटनाहरूमा केही अपराधी समूहहरू मात्र संलग्न थिए, तर चरमपन्थी र दक्षिणपन्थी राजनीतिक दलहरूले यसलाई समग्र मुस्लिम समुदायलाई नै बदनाम गर्न र “इस्लामी खतरा” को रूपमा व्याख्या गर्न हतियार बनाए, जसको प्रभाव आजसम्म पनि कायमै छ।
बेलायतमा अहिले आप्रवासन नीति, राष्ट्रिय पहिचान र आन्तरिक सुरक्षालाई लिएर गम्भीर वैचारिक विभाजन देखिएको छ। एकातिर अनियन्त्रित आप्रवासन र केही आपराधिक घटनाहरूका कारण स्थानीय जनतामा आक्रोश र असन्तुष्टि बढिरहेको छ ।

