नेपाली चियाको भारत निर्यातमा देखा परेको अवरोध पूर्ण रूपमा हटेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण सिर्जना भएको समस्या कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो।
नयाँ दिल्लीस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको प्रवक्ता क्षेत्रीको दाबी छ।
यसैगरी, नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौँमा आयोजना हुने तय भएको छ। उक्त बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन्। यसै अवधिमा नेपालले नर्वे र स्विट्जरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ।

