रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलमको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीको ठक्करबाट ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको छ। बिहीबार दिउँसो इशनाथ नगरपालिका–४, मठिया टोलस्थित मस्जिद नजिकै बाटोमा खेलिरहेकी बालिकालाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो।
ठक्कर लगत्तै चालकले नै घाइते बालिकालाई उपचारका लागि गौरस्थित अस्पताल पुर्याएका थिए, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनापछि चालक भने अस्पतालबाटै फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हाल ठक्कर दिने गाडी प्रहरी नियन्त्रणमा छ भने फरार चालकको खोजी कार्य र घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

