सुदूरपश्चिमको चुनावी दौडाहामा रहनुभएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को हुलियासँग दुरुस्तै मिल्ने एक व्यक्तिको भिडियोले यतिबेला इन्टरनेट तताएको छ। कैलालीको लम्की बजारमा खिचिएको उक्त भिडियोमा ती व्यक्तिले बालेनकै जस्तो कालो चश्मा, दारी, टोपी र कालो पहिरन लगाएर गाडीको छतबाट घण्टी बजाउँदै समर्थकहरूलाई हात हल्लाएको देखिन्छ।
को हुन् ती व्यक्ति? धेरैले उनलाई बालेनको सुरक्षाका लागि राखिएको ‘डमी’ वा नक्कली पात्र भनी टिप्पणी गरे पनि वास्तविकता भने फरक पाइएको छ। खोजतलासका क्रममा ती व्यक्ति कैलालीको टीकापुर-१ का २९ वर्षीय गोपाल कोइराला रहेको पुष्टि भएको छ। उनी टीकापुरमा व्यवसाय गर्दै आएका बालेनका कट्टर समर्थक र रास्वपाका कार्यकर्ता हुन्।
सामाजिक सञ्जालमा उनलाई ‘डमी बालेन’ भनिएपछि कोइरालाले दुःख व्यक्त गरेका छन्। उनले आफू बालेनको पहिरन र व्यक्तित्वबाट प्रभावित भएकाले पहिलेदेखि नै त्यस्तै हुलियामा हिँड्ने गरेको बताएका छन्।
कोइरालाका अनुसार, बालेन कैलाली आउने खबर पाएपछि उनी आफ्नो गाडी लिएर स्वागतका लागि लम्की पुगेका थिए। बालेनको टोली अघि बढिसकेपछि उनी त्यही हुलियामा गाडीबाट बाहिर निस्कँदा झुक्किएर मानिसहरूले उनलाई नै बालेन सम्झिएर भिडियो खिचेका थिए।

