अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) ले सार्वजनिक गरेको पछिल्लो टी-२०आई अलराउन्डर वरियतामा नेपाली टोलीका विष्फोटक ब्याट्सम्यान तथा कुशल बलर दीपेन्द्र सिंह ऐरी छैटौं स्थानमा उक्लिन सफल भएका छन्।
लामो समयदेखि शीर्ष १० भित्र रहँदै आएका दीपेन्द्रले आफ्नो पछिल्लो प्रदर्शनमा सुधार गर्दै एक स्थान माथि उक्लिएर छैटौं स्थान सुरक्षित गरेका हुन्। उनले विश्वका ठूला नाम चलेका क्रिकेट खेलाडीहरूलाई पछि पार्दै यो सफलता हासिल गरेका हुन्।
दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ—तीनवटै क्षेत्रमा देखाउने सन्तुलित प्रदर्शनकै कारण उनलाई आईसीसीले विश्वका उत्कृष्ट अलराउन्डरहरूको सूचीमा माथिल्लो स्थानमा राखेको हो। विशेषगरी एशियन गेम्समा बनाएको विश्व कीर्तिमान र एसीसी प्रिमियर कपमा एकै ओभरमा प्रहार गरेको छ छक्काले उनलाई विश्व क्रिकेट जगतमा थप चर्चित बनाएको थियो।
यससँगै टी-२०आई ब्याटिङ र बलिङ वरियतामा पनि अन्य नेपाली खेलाडीहरूको स्थानमा केही फेरबदल भएको छ। दीपेन्द्रको यो ऐतिहासिक छलाङले नेपाली क्रिकेट समर्थकहरूमा खुसीयाली छाएको छ।

