‘फेक रेस्क्यू’ गरी अर्बौँ ठगी गरेको आरोपमा ६ जना पक्राउ

spot_img

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले हिमाल आरोहण र पदयात्रामा जाने विदेशी पर्यटकहरूको नक्कली उद्धार  गरी अर्बौँ ठगी गरेको आरोपमा तीनवटा कम्पनीका ६ जना सञ्चालक तथा प्रबन्धकहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्यू सर्भिसका जयराम रिमाल र विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका रविन्द्र अधिकारी र विवेकराज थपलिया, तथा एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्सका मुक्ति पाण्डे र सुभाष केसी रहेका छन्। अनुसन्धानका अनुसार यी कम्पनीहरूले सन् २०२२ देखि २०२५ को बीचमा ३१७ वटा नक्कली उद्धार गरी अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूबाट करिब १९.६९ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) ठगी गरेको पाइएको छ।

उनीहरूले सामान्य बिरामी भएका पर्यटकलाई पनि जबर्जस्ती हेलिकप्टर प्रयोग गर्न लगाउने, एउटै उडानमा धेरै पर्यटक बोकेर सबैको छुट्टाछुट्टै नक्कली बिल बनाउने र अस्पतालहरूसँग मिलेमतो गरी उपचारको समेत झुटा कागजात पेस गर्ने गरेको खुलेको छ।

यस संगठित अपराधले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय साख गिराएको र विदेशी बीमा कम्पनीहरूले नेपालमा सेवा बन्द गर्ने चेतावनी दिएकाले सीआईबीले यसलाई राष्ट्रिय हित विरुद्धको अपराध मानेर थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार