अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा ठूलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको सनसनीपूर्ण दाबी गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सन्देश दिँदै ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष कारबाहीका क्रममा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी देश बाहिर लगिएको उल्लेख गरेका छन्। ट्रम्पले यस अपरेशनलाई ‘अत्यन्त सफल’ भन्दै यसबारे थप जानकारी दिन फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोमा पत्रकार सम्मेलन गर्ने बताएका छन्।
रुसको विदेश मन्त्रालयले भेनेजुएलामाथि अमेरिकी कारबाहीको कडा शब्दमा निन्दा गरेको छ । रुसले यसलाई सशस्त्र आक्रमण भनेको छ । मन्त्रालयद्वारा शनिबार टेलिग्राममा जारी वक्तव्यमा भेनेजुएलालाई कुनै बाहिरी, विशेष गरी सैन्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने पूर्ण अधिकार रहेको उल्लेख छ । वक्तव्यमा कुनै पनि प्रकारको दबाब वा सैन्य कारबाही अन्तर्राष्ट्रिय कानुन र सार्वभौमिकताका सिद्धान्तविपरीत रहेको जनाइएको छ ।

