काठमाडाैँ । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह तथा खेलतालिका सार्वजनिक भएको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल कठिन समूहमा परेको छ ।
विश्वकपका २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई टिम सुपर–एट मा पुग्नेछन् । त्यहाँबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश पाउनेछन् ।
नेपाली टोली २-२ पटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली सम्मिलित समूह ‘सी’ मा छ । नेपालले इंग्ल्यान्डसँगै पहिलो खेल फेब्रुअरी ८ मा खेल्ने छ । खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ ।
यस्तै नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ । यी खेलहरू पनि मुम्बईमा नै हुनेछन् ।
नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप खेल्दै छ ।
नेपालले पहिलोपटक इङ्ग्ल्यान्ड र इटालीसँग खेल्ने छ । वेस्ट इन्डिजलाई भने नेपालले गत सेप्टेम्बरमा शारजहाँमा भएको तीन खेलको श्रृंखलामा २–१ ले हराएको थियो । इटाली भने पहिलो पटक विश्वकप खेल्दै छ ।
गत संस्करणको टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एउटै समूहमा परेको थियो । त्यसबेला नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले पराजित भएको थियो ।
यस्तै, समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया परेका छन् । पाकिस्तानले भारत भ्रमण अस्वीकार गरेकाले दुवैको भिडन्त फेब्रुअरी १५ मा कोलोम्बोस्थित आर. प्रेमदासा स्टेडियममा हुनेछ ।
समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा छन् । ट्वान्टी-ट्वान्टी विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ ।
नेपालको खेलतालिका :
इंग्ल्यान्डसँग – फेब्रुअरी ८ (मुम्बई)
इटालीसँग – फेब्रुअरी १२ (मुम्बई)
वेस्ट इन्डिजसँग – फेब्रुअरी १५ (मुम्बई)
बंगलादेशसँग – फेब्रुअरी १७ (मुम्बई)
यस्तो छ पूरा खेलतालिका


