काठमाडाैँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज अपरान्ह ४ बजे कर्णाली याक्स र सुदुरपश्चिम रोयल्स भिड्दैछन् । यी दुवै टोलीको यो तेस्रो खेल हो । जसमा कर्णालीले १ खेल जितेर १ खेल हारेकाे छ भने सुदुरपश्चिमले दुवै खेल जितेको छ ।
गत संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेकाे थियो । आज उक्त हार दोहोर्याउने पक्षमा कर्णाली हुनेछैन ।
गत संस्करणको उपविजेता सुदुरपश्चिमको टिम सन्तुलित छ यस्तै टिम युनिटि पनि राम्रो देखिएको छ ।
गत संस्करणमा उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ । सुदुरपश्चिमले लगातार २ खेल जितेसँगै तेस्रो खेल पनि आफ्नै पोल्टामा पार्ने लक्ष्य लिएको छ ।
यता, पहिलो खेलमा चितवन राइनोजसँगको हारबाट जारी संस्करण सुरु गरेको कर्णालीले शनिबार लुम्बिनी लायन्सलाई ९ विकेटको रवाफिलो जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेकाे थियाे । यस खेलमा कर्णालीका मार्क वाटले सिजनकै पहिलो विष्फोटक शतक बनाएका थिए ।
यसकारण पनि आज सुदुरपश्चिम र र कर्णाली बिचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
सुदूरपश्चिम रोयल्सको टिममा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन् ।
कर्णाली याक्सको टिममा सोमपाल कामी (कप्तान), विल बोसिस्टो, दीपक डुम्रे (विकेटकिपर), अर्जुन घर्ती (विकेटकिपर), गुलसन झा, युवराज खत्री, जयकिशन कोलसावाला (विकेटकिपर), म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, दीपेन्द्र रावत, पवन सर्राफ, विपिन शर्मा, इमरान शेख, युनिश ठकुरी, मार्क वाट, नन्दन यादव, मनिष थापा र नाजिबउल्लाह जद्रान रहेका छन्।

