काठमाडौँ । टीयू क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
एक खेलमा जित हात पारिसकेको चितवन उच्च मनोबलका साथ मैदानमा उत्रिने देखिन्छ । गत संस्करणको लिग चरणमा प्लेअफ टिम चितवनविरुद्ध ३३ रनले विजयी भएको लुम्बिनी पनि आत्मविश्वासका साथ मैदानका उत्रिदैछ । यो लुम्बिनीको सात खेलमध्यको एक मात्र जित थियो । यसकारण पनि लुम्बिनी लायन्सका लागि बिहीबारको खेलले धेरै ठूलो अर्थ बोकेको छ ।
सिजन २ को पहिलो खेलले लुम्बिनीको दिशा यही खेलले निर्धारण गर्नेछ ।
रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोज प्रतिस्पर्धा गर्दै छ ।
सिजन–१ मा चितवनविरुद्ध रोहितको ८० रन र चार विकेटकोे अविस्मरणीय प्रदर्शन अझै पनि टिमका समर्थकको मानसपटलमा छ । लुम्बिनीले यसपटक टिमको संरचनामा उल्लेख्य परिवर्तन गर्नु र विविध पृष्ठभूमिका बिदेशी खेलाडि हुनु लुम्बिनीको अर्को बलियो पक्ष हो । लुम्बिनीका मुख्य प्रशिक्षक भारतका टिनु योहान्नन हुन् । उनले टोलीको रणनीतिक गहिराइ बढाएका छन् ।
लुम्बिनीमा कप्तान रोहितसँगै दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन् ।
यस्तै, चितवन आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएर उत्कृष्ट रिदममा छ । रवी भोपारा डेविड मिलान र अन्तिम क्षणमा खेल पल्टाउने क्षमता भएका सेफ जैब जस्ता खेलाडी हुनु चितवनका बलिया पक्ष हुन् । टिमका प्रशिक्षकका रूपमा कलाम अली छन् ।
कुशल मल्लको कप्तानीमा रहेको चितवनमा विपिन आचार्य, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर र सैफ जैब समावेश छन् ।
गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेल मात्र जितेर पुछारमा रहेको थियो । चितवन राइनोज गत संस्करणमा प्लेअफसम्म पुगेको थियो ।

