काठमाडौं – आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर-६ अन्तर्गत भएको खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार अन्तिम एक बल खेल्न बाँकी छदा १४२ रनमा अलआउट भयो।
कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५५ बलमा ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा कतार पराजित हुन पुग्यो ।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । त्यस्तै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

दुबै ओपनर सस्तोमा नै गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। उनले ४१ बल खेलेर ७ चौका र १ छक्काको मद्दतमा ५८ रन बनाए। दीपेन्द्रसिंह ऐरीले २६ रन जोडे। रोहित र दीपेन्द्रबीच चौथो विकेटका लागि ५२ रनको साझेदारी भएको थियो।

गुल्सन झाले ८ बलमा २ छक्का प्रहार गर्दै १६ रन बनाए। सोमपाल कामीले ९ बलमा १४ रन बनाए।
बलिङमा कतारका लागि मिर्जा बइक र ड्यानियल आर्चरले ३-३ विकेट लिए।

