रुबी साह हत्या प्रकरण : मुख्य आरोपीद्वारा हत्या गरेकाे स्विकाराेक्ति, जलेको अवस्थामा पक्राउ

spot_img

काठमाडाैँ । रौतहटकी रुवी साहको हत्या आरोपी लक्ष्मण पासवान शरीर जलेको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवान आफैँले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन् ।

रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । सो भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् । उनले आफूहरूबिच पहिले प्रेम सम्बन्ध रहेकाे समेत खुलाएका छन् ।

रुवीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुवी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने  लागेको र १०/१५ वर्ष जेल बस्नु आफूले स्विकार्न नसक्ने लगायतका कुरा बताएका छन् ।

लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् । बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । साे सूचना पाएपछि पुगेको प्रहरीले टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा भर्ना गरेको थियाे । अस्पताल गौरमा प्राथमिक उपचारपछि अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए।  टाउकोसहित शरीरको अधिकांश भाग जलेको र बोल्नसमेत कठिन भएको प्रहरीले जनाएको छ ।

गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक नजिक डोरीले बाँधिएको अवस्थामा २६ वर्षीय रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो ।

अनुसन्धानबाट खुलेको प्रारम्भिक विवरण अनुसार, पासवानले गौरस्थित भाडाको घरमा रुबीको हत्या गरी शव सुटकेसमा हालेर इ–रिक्सामा सार्ने प्रयास गरेका थिए । तर, इ–रिक्सा बिग्रिएपछि सुटकेस त्यही छाडेर भागेका थिए ।

प्रहरीले ५०० रुपैयाँमा भाडामा गएका रिक्साचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपी पासवान रहेकाे खुलेकाे हाे ।

माधव नारायण नगरपालिका– २ माधवपुर माइत र भारतको मुजफरपुर घर भएकी रुवी गौरमा डेरा लिएर बसेर ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार