काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिने भएको छ । बाढी सम्बन्धिकाे सुचनालाई थप प्रभावकारी बनाउनका विभागले सर्वसाधारणलाई ‘भ्वाइस कल’ गरेर जानकारी दिने भएकाे हाे ।
बाढी आउने खतरा देखिएमा एसएमएसमार्फत जानकारि दिदै आएको विभागले अबदेखि भने ‘भ्वाइस कल’ मार्फत पनि पूर्वसूचना दिनेछ ।
विभागका बाढीविद् विनोद पराजुलीले नेपाल टेलिकमसँगको सहकार्यमा विभागले यही सातादेखि परीक्षणका रूपमा ‘भ्वाइस कल’मार्फत सूचना प्रवाह गर्ने तयारी गरिरहेको जानकारी दिए । ‘मोबाइल एसएमएस सबै लक्षित वर्गमा पठाएर बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण प्रयास गर्दै आएका थियौँ । तर सबै जनताले एसएमएस आएको थाहा नपाउन सक्छन् वा सबैले एसएमएस पढ्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले फोन नै गरेर सन्देश प्रवाह गर्ने तयारी गरेका हौँ ।’
उनले एकैपटक धेरैलाई ‘भ्वाइस कल’ गर्दा सेवा अवरुद्ध कति हुन्छ ? भन्ने विषयमा यही साता परीक्षण गर्ने तयारीका साथ छलफल भइरहेको जानकारी दिए ।
पूर्वसुचना दिने प्रणाणीका कारणा धनजनकाे क्षति कम भएकाे समेत उनले बताए ।
‘पछिल्लो समय पूर्वसूचनाका कारण धनजनको क्षति न्यून भएको छ । पहिला–पहिला तराईमा बाढीका कारण बढी क्षति पुग्थ्यो । पूर्वसूचना प्रणाली पनि तराईका नदीमा जडान भएका छन्,’ पराजुलीले भने, ‘तर पहाड र हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली कम छन् । बाढीका घटना पहाड र हिमालमा पनि हुन थालेकाले अब ती क्षेत्रमा पनि पूर्वसूचना प्रणाली जडान गर्न आवश्यक छ ।’
जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले पनि बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न पूर्वसूचनाको पहुँच अब सबै क्षेत्रमा हुनुपर्ने बताए ।
उप्रेतीका अनुसार, जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम बढिरहेको छ र जसका कारण एक्कासि बाढी आउँदा धनजनको क्षति हुन थालेकोले जोखिममा रहेका हिमताल क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सकेमा सम्भावित क्षति न्यूनीकरण हुनसक्ने समेत बताए ।

