काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी– २० सिरिजमा नेपालले आज (मंगलबार) होबार्ट हरिकेन्स एकेडेमीसँग खेल्दै छ । यो खेल नेपाली समयअनुसार आज बिहान ११:१५ बजेबाट डार्बिनकाे पार्मर्स्टनस्थित काजालिस एरेनामामा हुनेछ ।
जारी सिरिजमा लगातार तीन खेलमा पराजित भएको नेपालले आज चौथो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेलमा एनटी स्ट्राइक्ससँग, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
होबार्टले भने ३ खेलमा १ जित निकालेको छ । पहिलो खेलमा एसीटीलाई हराएको होबार्ट त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भयो ।
नेपालले आगामी विश्वकप छनोट खेलको अभ्यासका लागि सिरिजमा भाग लिइरहेको छ । ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६-६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन् । नेपाल हाल अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा छ ।
नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् ।
नेपालले यसपछि बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

