काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रास्वपा सभापति रवि लामिछानेलाई राखिएको रुपन्देही कारागारकाे कोठामा हावा पास हुने अवस्था नभएकाले स्वास्थ्यका दृष्टिकोणले उपयुक्त नरहेको जनाएको छ ।
आयोगकी आयुक्त लिली थापासहितको टोलीले सोमबार गरेको निरीक्षण तथा अनुगमनपछि आज विज्ञप्ति जारी गर्दै आयोगले कारागारमा लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको बताएको उल्लेख गरेको हो ।
आयोगले भनेको छ, ‘कारागारमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको, निजलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको, कोठासँगै खुला ट्वाइलेट रहेको, स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदा समेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको छ।’
यसैगरी कैलाली कारागारमा हिंसात्मक मुठभेडबाट उत्पन्न परिस्थितिको निरन्तर अनुगमन गरिरहेको आयोगले जनाएको छ। अनुगमनका क्रममा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको, कैदीबन्दीबिच पटकपटक झगडा हुँदा पनि राज्य संयन्त्रले समस्या समाधानको लागि पर्याप्त पहल नगरेको, सुरक्षाकर्मीको संख्या न्यून रहेको, सुरक्षा चेकजाँच अत्यन्तै फितलो रहेको लगायतका कमजोरी पाइएको आयोगको भनाइ छ।
आयोगले देशका अधिकांश कारागारहरु मानव अधिकारमैत्री नभएका भन्दै कारागार व्यवस्थापनमा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।


