उत्तराखण्डकाे बाढीमा १७ भन्दा बढी नेपाली बेपत्ता, खोजीका लागि कूटनीतिक पहल अघि बढिसकेको परराष्ट्रमन्त्रीकाे भनाइ

spot_img

काठमाडौँ । भारतको उत्तराखण्डमा गत साउन २० गते आएको बाढीमा नेपालका १७ जना बेपत्ता भएका छन् ।

बाढीपछि जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् । कुशे गाउँपालिकाले विज्ञप्ति जारी गर्दै वडा नम्बर २ का १३ जना सम्पर्कविहीन भएको जानकारी दिएको हो ।

यसैगरी धादिङका चार जना पनि सम्पर्कविहीन भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका-२ काफलपानीका चार जना सम्पर्कविहीन भएको उनीहरूका परिवारले प्रशासनलाई जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर प्राप्त भएको र उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको बताएका छन् । प्रधानमन्त्रीले भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको दुःखद् खबरप्रति चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले चिन्तित छु । बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।

यस्तै, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उत्तराखण्डमा आएको बाढीमा परेर बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल भइरहेको बताएकी छन् ।

मन्त्री राणाले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत बेपत्ता नागरिकको खोजीका लागि पहल भइरहेको जानकारी दिएकी हुन् ।

उनले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरी हराइरहेका नेपाली नागरिकको खोजी तथा उद्धार कार्यमा तदारूकताका साथ लाग्न निर्देशन दिइसकेको बताएकी छन् ।

‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ,’ मन्त्री राणाले भनिन्, ‘नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ। दिल्लीस्थित दूतावासलाई समन्वय गर्न निर्देशन दिइसकेको छु।’

गत मंगलबार उत्तराकाशी जिल्लाको धरालीमा एक्कासि आएको बाढीमा परे १७ भन्दा बढी नेपालीहरू बेपत्ता भएका छन् ।

उत्तराखण्डमा क्लाउड ब्रस्ट भएर उक्त विपत्ति निम्तिएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । उत्तरकाशी क्षेत्रमा हिमताल विस्फोट भएको हुनसक्ने पनि आकलन गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार