काठमाडौं । नेपालले सन् २०२६ मा हुने आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता आगामी जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुनेछ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । शीर्ष चार टोलीले सन् २०२६ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी -२० विश्वकपमा स्थान बनाउने छन् ।
बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्वालिफायरका लागि स्वतः छनोट भएका छन् ।
एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् भने अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ ।अफ्रिका र युरोपबाट दुई-दुई तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ ।
यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुनेछ ।

