काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का छेप्टाको एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन् । स्थानीय उर्मिला हायुको परिवार सम्पर्कविहिन भएको हो ।
सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, हायु परिवारको घरमा सामान्य तोडफोड गरे जस्तो देखिएको बताए । उर्मिला हायुको परिवार पालेका कुखुरा, बाख्रा, भैँसी गोठमै अलपत्र छाडेर सम्पर्कविहीन बनेको हो । प्रहरीका अनुसार, १८ जनाको परिवारका दुईजना भने काठमाडौं रहेको खुलेको छ ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार हायु परिवारको भान्छाका लागि बनाइएको छाप्रोमा आगो लागेको भेटिएको छ ।
श्रेष्ठले यो हायु परिवारको घर जंगलबीच एकान्तमा रहेकाले छिमेकीले पुग्न पनि २० मिनेटजति हिँड्नुपर्छ । यो घरमा उर्मिला, छोराबुहारी, छोरी, नातिनातिनी, ज्वाइँसहित १६ जना रहेको श्रेष्ठले बताए । उनीहरू परिवार नै सबै एकैचोटि हराएपछि घटनालाई रहस्यमय मानिएको श्रेष्ठले बताए ।

एसपी सुवेदीका अनुसार, केही दिनअघिमात्रै सामाजिक सुरक्षा भत्ता बुझेकी उर्मिला हायुको परिवार घर छाडेर अन्यत्र गएको आशंका छ । हायु जातिलाई सरकारले लोपोन्मुखको सूचीमा राखेको छ । त्यहीकारण उनीहरूलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने गरेको छ।
प्रहरीले उर्मिलाको परिवार रामेछाप पुगेको आशंका गरेको छ । १६ जनामध्ये एक जनाको नम्बर रामेछापमा सक्रिय भएको खुलेको छ । सिन्धुली प्रहरी र रामेछाप प्रहरीले उनीहरूको खोजी तीव्र पारेका छन् ।अहिले हायु परिवारको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
सोमबार बिहान मात्रै हायु परिवार गायब भएको कुरा छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थाले पनि अहिलेसम्म हायु परिवारका कोही पनि सदस्य नभेटिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।
अहिले हायु परिवारको घरमा प्रहरी, जनप्रतिनिधि र छिमेकी जम्मा भएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाले ठोस तथ्य नभेटिएसम्म केही भन्न नसकिने जनाएको छ ।

