काठमाडाैँ । भक्तपुरमा दुई जना किशोरी मृत फेला परेका छन् । बिहीबार बिहान पौने ७ बजेतिर भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८, बोडे सिन्टिटारमा सुर्खेतका दुई किशोरी कोठाकै प्यासेजमा झुन्डिएकाे अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
दुवै जना एकै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
चक्रधर प्रजापतिको घरमा डेरा गरेर बस्ने सुर्खेतको पञ्चपुरी नगरपालिका-८ का १५ वर्षीया सृजना कँडेल र १७ वर्षीया मेनुका कँडेल मृत भेटिएको डीएसपी न्यौपानेले बताए ।
भक्तपुरमा मृत भेटिएका दिदीबहिनी भारतबाट भागेर आएको खुलेको छ ।
प्रहरीले अहिले घटनास्थलको प्रारम्भिक मुचुल्का गरी थप अनुसन्धान अघि बढाइसकेको छ।
उनका आमा-बाबु १०-१५ वर्षदेखि नै भारतमा काम गर्दै आएकाे र मेनुका र सिर्जना पनि भारतमै हुर्किएका बताइएकाे छ ।
करिब १५/२० दिनअघि मुम्बईबाट सम्पर्कविहीन रहेका उनीहरू भक्तपुरको बोडेमा डेरा गरी बस्न थालेका थिए । उनीहरूले आफूहरू विद्यार्थीहरू भएकाे र बुबाले नेपालकै कुनै होटलमा काम गर्ने गरेकाे बताएकाे घरबेटीले बताएका छन् ।
दिदीबहिनी मृत फेला परेपछि एक जना आफन्त सम्पर्कमा आएकने र बुबा पनि भारतबाट नेपाल आउँदै गरेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले घटनास्थलबाट उनीहरूको मोबाइल बरामद गरेको छ । मोबाइलमा गए राति २ बजेतिर टिकटक भिडिओ बनाएको र टिकटकमा डोरीसमेत देखाएको प्रहरीले जनाएको छ। घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन ।
प्रहरीले उनीहरूको शव पोष्टमर्टमको लागि अस्पतालमा पठाएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

