काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका खेलहरू फ्लड लाइटमा रातिमा पनि खेलाउने क्यानकाे याेजना रहेकाे छ ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँगको पोडकास्टमा एनपीएल त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलिने बताएका हुन् ।
‘अब त्यसबेला जाडो सिजन सुरु भएको हुन्छ, बेलुका शीत पनि आएको हुन्छ, अब टियू मैदानको काम सकिएको अवस्थामा सम्भवत: त्यही अनुसार सेड्यूल पनि बन्छ’ उनले भने, ‘सबैजना उत्साहित पनि हुनुहुन्छ, लेट्स होप दोस्रो संस्करण फ्लडलाट्समा खेलिनेछ।’
पारसले अब केही दिनमा अक्सनको मिति सार्वजनिक हुने र प्रतियोगिताको तालिका पनि छिट्टै सार्वजनिक हुने उल्लेख गरे ।
आगामी नोभेम्बर-डिसेम्बरमा हुने एनपीएलको दोस्रो संस्करणका लागि क्यानकाे अगस्टमा मिनी अक्सन गर्ने तालिका रहेकाे छ । अक्सनका लागि खेलाडी दर्ता गर्ने समय पनि गएरातिदेखि सकिएको छ ।
काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हाल स्तरोन्नतिको काम भइरहेको छ । पहिलो चरणमा १५ हजार क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान कार्य भइरहेको छ ।
तोकिएको समय (असार मसान्त)मा काम नसकिएपछि निर्माण कम्पनीलाई हर्जना तिराएर म्याद थप गरी काम भइरहेको छ ।

