काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले तीन महिनाका लागि मधेस प्रदेशका ८ वटै जिल्लालाई विपद संकटग्रस्त घोषणा गरेको हो ।
यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । मधेश प्रदेश अहिले खडेरी र सुक्खाको मारमा परेको छ । पानीको कमीले खानेपानी र सिंचाइ प्रणालीमा समेत प्रभाव परेको छ । भूमिगत पानीका स्रोतहरु इनार, ट्युबवेलमा पानी नआउँदा स्थानीय समस्यामा छन् ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रमेश लेखकले विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेका हुन् ।
मधेस प्रदेश सरकारले मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्नका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मधेसमा पानी नपरेर सुख्खा भएको, पर्याप्त पानी भरण हुन नसकेको, मुहान सुकेको, पानीको चरम अभावका कारण सिँचाइमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाको माग गरेको थियो ।
गृह मन्त्रालयका अनुसार अहिले मधेसमा कुल क्षेत्रफलको ४६ प्रतिशत जमिनमा मात्रै रोपाइँ सकिएको छ। सुख्खाका कारण उत्पादनमा समेत ह्रास आउने भनेर संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग भएको हो ।

