काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४-० काे अन्तरले हरायाे । यससँगै साविक विजेता बंगलादेशले उपाधि हात पार्याे भने नेपाल फेरि उपविजेतामै सीमित भयाे । यसअघिकाे बंगलादेशसँगको खेलमा पनि नेपाल ३-२ ले पराजित भएको थियो ।
‘हेड टु हेड’ तथ्यांकलाई हेर्ने हो भने, नेपालले अहिलेसम्म बंगलादेशसँग यू- २० लेभलमा एकपटक पनि जित निकाल्न सकेको छैन । दुवै टिमबीच भएका ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ भने १ खेल बराबरीमा टुंगिएको थियो ।
साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा पहिलो हाफमा १ गोल मात्र बेहोरेको नेपालले दोस्रो हाफमा ३ गोल खायाे । नेपालविरुद्धको खेलमा रातो कार्ड पाएर ३ खेलका लागि सस्पेन्ड भएपनि यसपटक भने बंगलादेशकी सागोरिका एक्लैले चार गोल गरीन ।
यसअघिका खेलमा भुटानलाई ६-१ र ८-० तथा र श्रीलंकालाई दुवै खेलमा ७-० गोलअन्तरले हराएको नेपाल बंगलादेशसँगकाे खेलमा भने निरीह हुन पुग्याे ।
उपविजेतामै चित्त बुझाएकाे नेपालकाे टिमबाट पूर्णिमा राईले चने सर्वाधिक गोलकर्ताकाे अवार्ड ‘गोल्डेन बुट’ उचालिन् ।
६ खेलमा कुल १० गोल गरेकी पूर्णिमाकाे नाममा दुई ह्याट्रिक समेत छन् ।

यस्तै सोमबारको अन्तिम खेलमा नेपालविरुद्ध एक्लै चार गोल गरेकी बंगलादेशकी सागोरिका मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन् । उत्कृष्ट गोलकिपर बंगलादेशकी मिली अख्तर घोषित भइन् भने फेयर प्ले अवार्ड श्रीलंकाले जित्यो ।
पछिल्लाे समयमा नेपाली फुटबलमा देखिएकाे विवादका कारण आलोचना खेप्दै आएको एन्फाले नेपालले खेल हारेपछि कमेन्ट बक्स नै अफ गर्यो । पोस्टमा रियाक्ट र शेयर मात्र गर्न मिल्ने बनायाे । केहि सामाजिक सञ्जाल प्रयाेगकर्ताले एन्फाले पेजका पोस्टमा कमेन्ट अफ गरेर लाज छोप्ने प्रयास गरेकाे बताए । खेलका दौरान पनि नेपाली समर्थकहरूबाट एन्फाले खेलको विकासमा कम र बेथितिमा बढी ध्यान दिने गरेको भन्दै चर्को आलोचना भइरहेको थियो ।
याे खेलसँगै एन्फाकाे कमजोर लगानी, निर्णायक खेलमा रणनीतिक याेजनाकाे अभाव र डिफेन्स ट्रान्जिसनमा कमजोरी फुटबल समर्थकबिच प्रष्ट देखिएकाे छ ।
केही समयअघि सिनियर महिला फुटबल टिमका विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्डले समेत एन्फाकाे व्यवस्थापन पक्षका बारेमा खेलेरै आलाेचना गरेका थिए । प्याट्रिक र व्यवस्थापनबीचको विवाद चुलिँदा अहिले प्रशिक्षकको राजीनामा समेत आइसकेको छ ।

