काठमाडौं । गृह मन्त्रालयले ४५ जना शाखा अधिकृतलाई सोमबार (साउन ५)देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । अध्यागमन सुधारमा क्रममा मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई अध्यागमन कार्यालयमा खटाएको हो ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख एवं सहसचिव नरहरि घिमिरे र ४५ नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएका जानकारी दिए ।
विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भएर काम गरिसकेका सहसचिव हुन् ।
केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो । साेहि अनुसार गृहले ४५ शाखा अधिकृत अध्यागमनमा खटिएका र सोही संख्यामा शाखा अधिकृत मन्त्रालयमा तानिएको जनाएको छ ।
“विमानस्थलबाट आएका अधिकृतहरू मन्त्रालयमा दरबन्दी मिलान हुन्छ,” गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, “दरबन्दीभन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालयमार्फत बाहिर पठाउने काम हुन्छ ।”
पछिल्लाे समयमा भिजिट भिसाका नाममा मानव तस्करी भएकाेमा छानबिन भइरहेकाे छ ।
सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ ।

