पर्वत । गएराति पर्वतको मोदी गाउँपालिका–३ देउरालीकाे लाङ्दीमा गएको पहिरोमा बेपत्ता भएका पतिपत्नीकै शव फेला परेको प्रहरीले जनाएको छ ।
पहिरोले घर पुरिँदा बेपत्ता भएका ७६ वर्षीय छविलाल विश्वकर्मा र ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण आइतबार बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका हुन् । पहिरो खस्नासाथ हामफालेर ३२ वर्षीया बुहारी पवित्राले भने भागेर ज्यान बचाएकी थिइन ।
गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ ।
स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

