काठमाडाैँ । आज देशका विभिन्न स्थानमा अति धेरै भारी वर्षा हुने जल तथा माैसम विभागले जनाएकाे छ । माैसम विभागकाे यस पूवार्नुमानमा आधारीत रहि प्रधानमन्त्री के पी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन् ।
‘अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा भएको छ ।
यस्तै धनकुटामा एक सय २१, सुनसरीमा एक सय ३०, इलाम माइपोखरीमा एक सय २१ मिलीमिटर वर्षा भएको छ । यी चार स्थानमा अतिभारी वर्षा मापन भएको विभागले जनाएको छ । अन्य धेरै जिल्लामा भारी वर्षा भएको छ ।
पूर्वी नेपालमा बढी वर्षा भएको जानकारी दिँदै विभागको मौसम पूर्वानुमान महाशाखाले आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको र भोलिसम्म यो अवस्था रहने र विस्तारै हट्दै जाने जानकारी दिएकाे छ ।
सिन्धुपाल्चोक, कास्की, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी, झापामा पनि पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ । अन्य केही पहाडी जिल्लाका पहाडी क्षेत्रमा पनि भारी वर्षा भएको विभागले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत जिल्लास्थित मोदीखोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्नेहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।
यसैगरी बिहान इलामको कन्काइ मैनाचुलीमा पनि जलसतह सतर्कता तह आसपास पुगेको थियो । सुनसरीको सार्दुल खोलामा पनि जल सतहले सतर्कता तह पार गरेको थियो । सुनसरीको बूढीखोला दुहबी जलमापन केन्द्रमा राति १:२० बजे भने जलसतहले खतराको तह नै पार गरेपछि साइरन बजेको थियो ।


