महानगरकाे छात्रवृत्ति परीक्षामा १६ हजार १३७ सहभागी हुने, परिक्षा साउन ३ गते

spot_img

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षामा १६ हजार १३७ विद्यार्थी सहभागी हुने भएका छन् ।

देशका ७७ वटै जिल्लाका १७ हजार ९२९ जनाले आवेदन दिएकाेमा १६ हजार १३७ ले छात्रवृत्तिको परीक्षाका लागि छनोट भएका हुन् ।  छात्रवृत्ति प्रवेश परीक्षा यही साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको, अथवा काठमाडौँ महानगरपालिकामा स्थाई बसोबास भएको प्रमाण संग्लग्न नभएका १ हजार ९२ आवेदन अस्वीकृत भएका महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि गएको असार १८ गते गतेदेखि २७ गतेसमम आवेदन खुला गरेको थियो ।

महानगरको शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापन संकायका लागि ४ हजार १६४, मानविकी संकायका लागि ३२ जना, शिक्षा संकायका लागि ९५ जना र कानुन संकायका लागि २५६ जनाले छात्रवृत्ति परीक्षा दिन पाउने भएका छन् ।

परीक्षाको लागि छनोट भएका विद्यार्थीलाई इमेल र फोनमार्फत सूचना पठाइसकिएको महानगरले जनाएको छ ।

छनोट भएका विद्यार्थीले परीक्षामा सहभागी हुनको लागि महानगरपालिका वेवसाइटबाट प्रवेश पत्र डाउनलोड गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ । जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्ने महानगरपालिकाले जनाएको छ ।

परीक्षाको नतिजापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने महानगरपालिकाले जनाएको छ ।

२०८१ मा १२ हजार जनाले आवेदन दिएकोमा ३ हजार ८०१ जनाले छात्रवृत्ति प्राप्‍त गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार