काठमाडाैँ । चितवनको सिमलतालबाट काठमाडौं आउँदै गरेको एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
भारतबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हाे ।
सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरु दुवैकाे भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. २९ मा पर्ने सिमलतालबाट गत वर्ष असार २८ गते दुईवटा बस त्रिशूली नदीमा खस्दा बससहित ३९ यात्रु अझै बेपत्ता छन् ।

