काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका छन् । बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं पनि सहभागी हुनेछन् ।
कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बसेकाे थियाे । यस बैठकमा बालेनले अध्यक्षता गरेका हुन् भने गुरागाईं सदस्य सचिव रहेका छन् ।
उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइएको हो ।
आजै दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ । उक्त बैठकले नगरसभाको मिति तय गर्नेछ । समितको बैठकमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभागका प्रमुख तथा सहायक प्रवक्ता ध्रुव काफ्ले र सदस्यहरूको सहभागिता छ ।
मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बिदामा राखेर कार्यपालिका बैठक बोलाउने पक्षमा थिए तर उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूले लगातार छलफल गरेपछि शुक्रबार भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई सँगै राखेर बैठक बस्न बालेन तयार भएका हुन् ।
२०८१ पुसको पहिलो हप्ता बसेको कार्यपालिका बैठक पछि मेयर बालेनले गुरागाईंसँग बोलचाल बन्द गरेर भेट गरेका थिएनन् ।

