काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग लड्न युक्रेनलाई थप हतियार दिने बताएका छन् ।
जो बाइडेन सरकारले दिने निर्णय गरेको सटिक निशाना लाग्ने प्याट्रियट एअर-डिफेन्स सिस्टम अन्तर्गतका रक्षात्मक मिसाइल (इन्टरसेप्टर) र केही हतियारको आपूर्ति रोकेको एक हप्तामै उनले फेरी दिने निर्णय गरेका हुन् ।
रूसले हालै युक्रेनी सहरहरूमा गरेको भीषण आक्रमणका कारण आफूलाई अरू विकल्प नभएको र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्न नखोजेकाले आफू उनीसँग असन्तुष्ट भएको पनि ट्रम्पले भनाइ उदृत गर्दै द न्युयोर्क टाइम्सले उल्लेख गरेकाे छ ।
‘हामी केही थप हतियार पठाउनेछौं,’ ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग भने ।
‘हामीले पठाउनुपर्छ। उनीहरूले आफूलाई बचाउन सक्षम हुनुपर्छ। अहिले उनीहरूलाई धेरै ठूलो प्रहार भइरहेको छ। हामीले थप हतियार, मुख्यतया रक्षात्मक हतियार पठाउनुपर्नेछ। तर उनीहरूमाथि धेरै कडा प्रहार भइरहेको छ। त्यो अराजकतामा धेरै मानिसहरू मरिरहेका छन्,’ उनले थपे।
रक्षा मन्त्रालयका नीति प्रमुख एलब्रिज कोल्बीले अमेरिकाको गोलाबारी, एअर-डिफेन्स मिसाइल र सटिक हतियारहरूको भण्डार घटिरहेको औँल्याएर हतियार रोक्ने निर्णय लिएका थिए ।
युक्रेनलाई हस्तान्तरण गर्नका लागि छिमेकी पोल्याण्ड पुर्याइसकिएको हतियार समेत रोकेका ट्रम्पले एक हप्तापछि फेरि हतियार दिने घोषणा गरेका हुन् ।
जेलेन्स्कीले रूसी हवाई आक्रमणबाट आफ्नो देशलाई जोगाउन १५ अर्ब डलरमा १० वटा प्याट्रियट एअर-डिफेन्स युनिट किन्न चाहेको बताउँदै आएका छन् ।
ट्रम्पको पहलमा रूस-युक्रेन युद्धविरामका निम्ति अमेरिकाले मध्यस्थता गरिरहेको छ । ट्रम्पले सार्वजनिक र निजी रूपमा पनि युद्धविरामका लागि दुवै देशमाथि दबाब दिँदै आएका छन् ।
अमेरिकाले राखेको ३० दिनको अस्थायी युद्धविराम प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिनले सहमति दिएका थिएनन् ।
उनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सीमित गर्नुपर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका भागको पनि स्वामित्व दिनुपर्ने माग गरिरहेका छन्।
युद्ध रोक्न कदम चाल्नुको साटो पुटिनले उल्टै युक्रेनमाथि आक्रमण तीव्र बनाएका छन् । त्यही भएर ट्रम्पले यूटर्न लिएकाे बताइएकाे छ ।
पुटिनले वार्ता गरेजस्तो देखाएर आफूलाई खेलाइरहेको भन्दै ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध लगाउन छलफलसमेत थालेको मानिन्छ ।
रूस शान्तिका लागि गम्भीर देखिएन भने ट्रम्पले रूसविरूद्ध कडा कदम चाल्न सक्ने अपेक्षा गरिएको छ ।
(अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा )

