पूर्वपश्चिम राजमार्गको विनयी खोला पुलमा गुड्न थाले गाडी, यात्रुलाई सहज

spot_img

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुलमा गाडी गुड्न थालेका छन् ।

पुलमा कालोपत्रे लगायतका सबै काम सम्पन्न भएसँगै बुधबार बिहान ११ बजेदेखि यहाँबाट गाडी गुड्न थालेका हुन्।

बुटवल–नारायणगढ सडक खण्डको दुम्कीबासस्थित विनयी खोलाको पुरानो फलामे पुल गत पुस २६ गते एक भारतीय ट्रकले भत्काएपछि यहाँ अस्थायी डाइभर्सनमार्फत जोखिमपूर्ण ढंगले सवारी सञ्चालन हुँदै आएका थिए ।

योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ । यसअघि पुल नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परिरहेको थियो ।

पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएको भए पनि बाढीले बगाउने गरेकोले आवतजावतमा समस्या पर्ने गरेको थियो । विनयी खोलामा निर्माण गरिएको नयाँ पुल भएर आजदेखि गाडी चल्न थालेसँगै अब डाइभर्सनबाट गाडी चलाउनु पर्ने वाध्यता हटेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए ।

निर्माण कम्पनीले २४५ मिटर लामो र ७।५ मिटर चौडाइको पुल ६ महिनामै निर्माण सकेको हो। पुलमा पैदलयात्रुका लागि फुटपाथसमेत निर्माण गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार