काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’काे ह्याट्रिक गोलसहित नेपालले श्रीलंकाविरुद्ध ८-० काे जित निकालेकाे छ ।
साम्बाले खेलमा लगातार दोस्रो गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको हाे ।
तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले १/१ गोल गरे ।
नेपालले दुवै हाफमा ४’४ गोल गर्यो ।
डिफेण्डर गीताले ७ औँ मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि साम्बाले २०, ४२ र ४६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
दोस्रो हाफको ५४औं मिनेटमा गिताले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरिन् . त्यस्तै, ६२औं मिनेटमा निशाले र ७८औं मिनेटमा रेखा पौडेलले हेडर गोल गरिन् । यसैगरी ८९औं मिनेटमा पुजा रानाले बक्समा डिफेन्डरले क्लियर नगरेको बललाई पोस्टको दिशा दिइन् ।
श्रीलंकाविरूद्ध नेपाल अहिलेसम्मका ८ खेलमा नेपाल अपराजित छ । फिफा वरियतामा नेपाल नेपाल १ सय र श्रीलंका १ सय ५९ औं स्थानमा छ ।
नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो । अब नेपालले अन्तिम अनि महत्वपूर्ण खेलमा उज्बेकिस्तानसँग खेल्ने छ ।
लगातार दुई जितपछि नेपाल ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई खेलमा पराजित भएको श्रीलंका एक खेल अगावै बाहिरिने पक्का भएको छ ।
समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।

