काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय फैसला गरेको छ ।
सोमबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई प्रमुख जस्तो ओहोदामा बहाल रही भ्रष्टाचार गरेको देखिन आएकोले थप तीन महिना समेत गरी ८ वर्ष ३ महिना कैद सजायकाे फैसला गरेको हो।
‘मोहन बहादुर बस्नेत तथा राजु प्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम जनही ८ (आठ) वर्ष कैद सजाय हुने ठहर्छ,’ विशेष अदालतको आदेशमा भनिएको छ, ‘सोको अतिरिक्त नगरपालिकाको प्रमुख जस्तो ओहोदामा बहाल रही उक्त कसूर गरेको देखिन आएकोले ऐ. ऐनको दफा २४ बमोजिम ३ (तीन) महिना थप कैद सजाय समेत हुने ठहर्छ।’
प्रतिवादी मोहन बहादुर बस्नेत र घुस दिने पद्मा कोलोनी प्रा.लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र सो कम्पनीको अध्यक्ष/संचालक राजु प्रसाद कँडेललाई २ करोड ३० लाख ६१ हजार ५ सय आठ रुपैयाँ आठ पैसा जरिवाना हुने समेत फैसला गरेको छ ।
चारै जना प्रतिवादीहरूबाट सोही बिगो बराबरको रकम जफत हुने समेत उल्लेख छ।
सम्पत्ति शुद्धीकरणतर्फ बस्नेतले बिगो १३ करोड १२ लाख ७३ हजार ३२ रूपैयाँको सम्पत्ति शुद्धीकरणको कसूर गरेकोमा उनलाई ३ (तीन) वर्ष कैद सजाय हुने, बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ जरिवाना हुने र सम्पत्ति/जग्गा समेत जफत हुनेछ । कैद भने ८ वर्षको कैदमा गाभिनेछ ।
यस्तै राष्ट्रसेवकले गरको सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा नगरप्रमुख बस्नेतलाई थप ३ महिना १८ दिन कैद र २ करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिवाना थपिएको छ ।
साथै अपराध पीडित संरक्षण ऐनअनुसार बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा र कडेँलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ ३२ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गत पुस १५ गते विशेष अदालतमा सम्पत्ति शुद्धीकरण र घुस लेनदेन मुद्दा दायर गरेको थियो ।
मेयर बस्नेत नेपाली कांग्रेसबाट २०७९ मा नेकपा एमालेका सांसद नन्दन हरि गाैतमलाई १८१८ मतले हराएर निर्वाचित भएका थिए ।

