कैलालीमा डुबान र बाढीकाे जाेखिम : १०० घर डुबानमा, ८ जनाको उद्धार

spot_img

धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा अविरल वर्षा भइरहेकाे छ । सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कंचनपूरमा भएकाे भारी वर्षाका कारण घर डुबानमा परेका छन् ।

धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएकाे छ ।जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले धनगढी उपमहानगरपालिका–१, २, ३,४,५,७,८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएको बताए ।

लगातारकाे वर्षाका कारणा धनगढीमा बाढी घरमा पसेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।

धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बेलीका सिताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेका आफन्तको घरमा सारिएको जानकारी दिए ।

उनका अनुसार धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ ।

आइतबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा बाढीको जोखिम बढेको छ ।

लगातार भारी वर्षा भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहले भनेका छन् ‘भारी वर्षापछि लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुर लगायत आसपासका क्षेत्रहरू जलमग्न भएका छन् । बाढीबाट डुबान हुन सक्ने भएकोले विपत्तिको समयमा सुरक्षित भएर बस्नुहुन सर्वसाधारण सबैमा अनुरोध गर्दछु ।’

 

सम्बन्धित समाचार

ताजा समाचार