ग्वार्को ओभरपास आजबाट सञ्चालन, प्रधानमन्त्रीले उपत्यका ट्राफिक प्रमुखबाट गराए उद्‍घाटन

ओभरपास उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता ओभरपास अन्य ठाउँमा समेत बनाइने बताए ।

spot_img

काठमाडौँ । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपासकाे प्रधानमन्त्री केपी ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट उद्घाटन गराएका छन् । उद्घाटन भएसँगै आज (शुक्रबार)बाट ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, एसएसपी नवराज अधिकारीले रिबन काटेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले नजिकै रहेको डिभाइडरमा टाँसिएको शिलापत्र अनावरण गरेका थिए ।

ओभरपास उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता ओभरपास अन्य ठाउँमा समेत बनाइने बताए । उनले भने, ‘सामान्य रुपमा होइन देशले गति लिन लागेको रुपमा हामीले हेरेका छौं । चक्रपथ विस्तार गर्ने कुरामा पनि हामी लागेका छौं । यस्तै फ्लाइओभर र ओभरपास अन्य ठाउँमा बनाइन्छ ।’

१२ फागुन २०७८ मा ठेक्का लागेको यो ओभरपासको काम सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ ।

इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण सुरु भएको थियो । सुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपिदा समेत काम सम्पन्न भएन ।

त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई करिब एक करोड ४७ लाख जरिवाना तिराएर काम गराइएको थियो ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार