एयर इन्डिया विमान दुर्घटना : हालसम्म २६५ शव निकालियाे

spot_img

अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको स्थानबाट हालसम्म २६५ वटा शव निकालिएको छ ।

यसअघि मृत्यु पुष्टि भएका २४१ जना चालक दलका सदस्यसहित विमानमा सवार यात्रु र बाँकी २४ मृतक दुर्घटनास्थलमा रहेका भवनका व्यक्ति रहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक ५ जना विमान खसेको मेडिकल होस्टेलका रहेकाे जनाइएकाे छ । जसमध्ये ४ एमबीबीएस विद्यार्थी र एक डाक्टरकी श्रीमतीको मृत्यु भएको रिपोर्ट आएको छ।

विमान खस्दा बीजे मेडिकल कलेजको होस्टेलमा ५० भन्दा बढी मानिस थिए । तर होस्टेलमा कति जनाको मृत्यु भयो भन्ने कुरा अझै स्पष्ट छैन ।

यसैबीच टाटा कम्पनीले विमान दुर्घटनामा मृत्यु भएका सबै यात्रुका परिवारलाई जनही एक करोडको दरले क्षतिपूर्ति दिने र घाइतेहरुको निःशुल्क उपचार गरिदिने जनाएको छ । विमान ठोक्किएर क्षतिग्रस्त भएको घर पुनर्निर्माण गरिदिने घोषणा पनि टाटाले गरेको छ ।

विहीबार दिउँसो भारतीय समय अनुसार २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान २ बजेर ४० मिनेटमै खसेर आगो लागेको थियो ।

टाटा कम्पनीको स्वामित्वको सो विमानमा २३० यात्रु र १२ जना ‘क्रु मेम्बर’ (चालक दलका सदस्य)हरु थिए । विमानमा  १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिकसहित कुल २३० यात्रु थिए । भारतीय मूलका ब्रिटिश नागरिक एक जना भने उछिट्टिएर बाँच्न सफल भएका छन् । उनको उपचार जारी छ । यो दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतादेखि अमेरिकी, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, मालदिभ्स, नेपाल लगायतका देशका सरकारसम्मले शोक व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार