काठमाडौं । सप्तकोसी नदीमा मनसुनजन्य विपद् अभ्यासका क्रममा हराइरहेका १ जना गोताखोरकाे शव फेला परेकाे छ । बुधबार सप्तरीस्थित सप्तकोसीका डुबेर बेपत्ता भएका हरदेव राजवंशीको शव शुक्रबार बिहानमात्रै फेला परेको छ ।
ज्यान गुमाएका सशस्त्र प्रहरी बलका सिपाही हरदेव राजवंशी डिजास्टर म्यानेमेन्ट प्रशिक्षकसमेत हुन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, राजवंशीले स्पेसल टास्क फोर्ससहित अन्य तीनवटा विशेष तालिमसमेत गरेका थिए ।
सशस्त्र प्रहरी बलका जवानमध्ये थोरैले गर्ने तालिम राजवंशीले गरेका थिए ।
यसरी नै अर्का बेपत्ता सिपाही सुरज साउदलेसमेत एक वर्षअघि नै गोताखोर तालिम गरेका थिए । यसअघि, त्रिशूली, सप्तकोसी र पोखराको फेवातालमा समेत उनीहरूले पटकपटक तालिम गरेका थिए ।
दुवैजना तालिमप्राप्त गोताखोर कसरी बेपत्ता भए भन्नेबारे अध्ययन भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । साउदको खोजीकार्य अझै जारी छ ।
अभ्यासका क्रममा तालिमप्राप्त सिपाहीको मृत्युपछि घटनाको जानकारी लिन शुक्रबार बिहान गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी मुख्यालय हलचोक पुगेका थिए ।

