काठमाडौँ । नेपाल पर्यटन बोर्डले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालसँगको सहकार्यमा बोर्डले अनलाइन पाठ्यक्रम सुरु गरेको हो ।
पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले साे अनलाइन पाठ्यक्रम शुरू गरीएकाे जनाइएकाे छ ।
काठमाडौँमा जारी हिमालयन ट्राभल मार्टको उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले क्युआर सार्वजनिक गर्दै अनलाइन तालिमको औपचारिक शुभारम्भ गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
अनलाइन पाठ्यक्रम ट्राभल एजेन्ट, गाइड, टुर अपरेटर, ट्रेकिङ कम्पनी तथा पर्यटन विषय अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरिएको छ ।
‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट (एसटिपी)’ अन्तर्गत तयार पारिएको यो तालिम नेपाल पर्यटन बोर्डको ‘इ–लर्निङ प्लेटफर्म स्पेसलिस्ट बेसिक लेभल’ मार्फत निःशुल्क रूपमा प्रदान गरिने जनाइएको छ । अनलाइन पाठ्यक्रममा नेपालका भौगोलिक, सांस्कृतिक र जैविक विविधता, प्रमुख पर्यटन उत्पादनहरू जस्ता विषयवस्तु समावेश गरिएका छन् । त्यस्तै ट्रेकिङ, साहसिक यात्रा, सांस्कृतिक सम्पदा र वेलनेस पर्यटन, दिगो पर्यटनका सिद्धान्त र गन्तव्य संरक्षण, जिम्मेवार यात्रा अभ्यास, जलवायु लचकता, ग्राहक सेवा सीप र आगन्तुकसँगको प्रभावकारी संलग्नता जस्ता विषयवस्तु समावेश गरिएका छन् ।
नेपाल सरकारले घोषणा गरेको ‘पर्यटन दशक’ रणनीतिअनुसार सन् २०३२ सम्म ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई ध्यानमा राखेर मानव संसाधन विकासमा लगानी गरिँदै आएको बोर्डले जनाएको छ ।
युएनडिपीसँगको सहकार्यमा सन् २०२५ देखि २०२८ सम्म सञ्चालन हुने ‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट’ ले दुई हजार ५०० रोजगारी सिर्जना गर्ने तथा पाँच हजारलाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि तालिम दिने बोर्डले लक्ष्य लिएको छ।
परियोजनाले दिगो, समावेशी र स्थानीय स्रोतमा आधारित पर्यटन प्रवर्द्धन गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउने बोर्डको विश्वास छ ।

