नखेल्नु जुवा र तास, मलाइ प्यारो लाग्छ, रातो भाले, जस्ता कालजयी गितका सर्जक साहित्यकार, गायक एवं संगीतकार गणेश रसिक राईको ७८ वर्षको उमेरमा निधन भएको हो । जेठ १८ गते आइतबारका दिन ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
भोजपुरको छिनामखुमा २००४ सालमा जन्मिएका रसिकको जीवन काठमाडौँमै बित्यो । उपत्यकाका साँघुरा गल्लीहरूमा गीत संगितसँगै भिजे । ‘गीत–संगीतमा हुन्थिनँ भने उहिल्यै मरिसक्थे’ भन्दै आएका रसिकलाई यो पटक मृत्युले जित्यो । पटकपटक मर्ने कोसिस गर्दा पनि मृत्यु डराएको कुरा सुनाउने रसिक यस पटक भने मृत्युसँग हारे ।
५ वर्ष देखि प्रोस्टेट क्यान्सरबाट पीडित रसिकले नियमित किमोथेरापी गराउँदै आएका थिए । रसिकको इच्छाअनुसार नै उनको शवलाई आज पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । रसिककी छोरी बेलायतबाट आइपुगेपछि अन्त्येष्टि गरिएको थियो । रसिकले परिवार र आफन्तलाई निधनपछि तामझामसहित आफ्नो शवलाई प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रतिष्ठानमा नराख्न भनेका थिए । साथै, उनले जन्मथलो भोजपुरको छिनामखुमा अस्तु लैजानु भनेर आग्रह गरेका थिए । उनको इच्छाअनुसार नै अस्तु गाउँमा लैजाने तयारी गरेको परिवारले बताए ।
रसिक बहुआयमिक व्यक्ति थिए । उनका ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ “मलाइ प्यारो लाग्छ” कालजयी गीतहरु हुन् ।
‘क्षितिजलाई छुन खोज्दा (कथासंग्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, पाँच पुस्तकको ‘पेरुङ्गो’ (संस्मरण) लगायत रसिकका प्रकाशित किताब हुन् ।
रसिकले रत्न रेकर्डिङ संस्थानको महाप्रबन्धक, राष्ट्रिय नाचघरको महाप्रबन्धक, साझा प्रकाशनको कार्यकारी अध्यक्ष, संगीत नाट्य एकेडेमीको प्राज्ञिक पदमा बसेर नेपाली भाषा र साहित्यमा योगदान गरेका थिए ।
‘घरबेटी आमै आँगनमै देऊ न मलाई बास’ भने झैँ आम श्रोता पाठकको मनमा रसिक र उनका कृति सधै बसिरहने छन ।

