काठमाडौं । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग झुकेर सरकारले यसअघि हटिसकेको सिन्डिकेटलाई संरक्षण गरेको बताएका छन् । उनले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति आपत्तिजनक र असंवैधानिक भएकाे बताए ।
आज बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने र राइड सेयरिङ रोक्ने कुरा गलत भएको र यात्रुले आफ्नो सुविधा अनुसार यातायात साधन प्रयोग गर्न पाउनुपर्नेमा जोड दिए ।
ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो नि । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ ।’
‘यातायात व्यवसायीले आन्दोलन गरेपछि सिन्डिकेट लगाउने । तोड्नेतिर पनि जाने होला,’ उनले भने, ‘अब जनताले आन्दोलन गरे के हुन्छ त ? पब्लिकलाई त यसले निकै ठूलो समस्या पार्छ नि ।’
गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर यातायात अवरूद्ध गरी आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच सोमबार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

