करण व्याटिङमा चम्किदा स्कटल्यान्डमाथि नेपालकाे शानदार जित

spot_img

काठमाडौँ । स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ मा नेपालले घरेलु टोलीलाई १ विकेटले पराजित गरेकाे छ ।

सोमबार भएको सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई १ विकेटले पराजित गर्दै जित हात पारेको हो ।

खेल अवधिभर निकै नै प्रतिस्पर्धात्मक रह्याे । अन्तिम ओभरकाे खेल झनै राेमाञ्चक बन्याे ।

नेपाललाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो । तर सन्दीप लामिछाने ५ रनमा मार्क वाटको पहिलो बलमा क्याच भए ।

त्यसपछि रिन ढकालले एक बल वाइड र एक बल डट खेलेपछि १ रन लिएर करणलाई स्ट्राइक दिए । चौथो र पाँचाै  बलमा करण केसीले २/२ रन लिएपछि स्कोर बराबरी भएको थियो । जसका कारण नेपाललाई अन्तिम बलमा एक रन चाहिएकाे थियाे । तर लगत्तैको बल वाइड हुँदा नेपालले एक विकेटको जित निकाल्यो ।

स्कटल्यान्डले दिएको २ सय ९७ रनको लक्ष्य नेपालले १ बलअगावै ९ विकेटको क्षतिमा पूरा गर्‍यो । याेसँगै नेपालले एकदिवसीय क्रिकेटमा सबैभन्दा उच्च रनको लक्ष्य पूरा गर्दै खेल जित्ने कीर्तिमान बनाएको छ ।

नेपालका लागि करण केसीले सर्वाधिक ६५ रन बनाए । करणले उत्कृष्ट व्याटिङ गर्दै  ४१ बलमा ३ चौका र ४ छक्का हाने ।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले १२ ओभरमा ७२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौका हान्दै ५३ रन बनाए ।  गुल्सन झाले ३० बलमा ३ चौका र ३ छक्का हान्दै ४२ बनाए । आसिफ शेखले २० रन, भीम सार्कीले ४० रन र रोहित पौडेलले ३७ रन बनाए ।

आरिफ शेख ७ रन, दीपेन्द्रसिंह ऐरी ८ रन, सन्दीप लामिछाने ५ र सोमपाल कामी १ रनमा आउट भए । रिजन ढकाल १ रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि भीम सार्की र कप्तान रोहित पौडेलले ५४ रनको साझेदारी गरे ।

त्यसअघि स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९६ रनको लक्ष्य दिएकाे थियाे ।

स्कटल्यान्डका ब्रान्डन मक्मलेनले ३ विकेट लिए भने ज्याक जर्भिस र माइकल लिस्कले २/२ विकेट लिए ।

स्कटल्यान्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए । उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे ।

फिन्ले एमसी क्रेथले ६७ बलमा ३ चौका र १ छक्का हान्दै ५५ रन बनाए । म्याथु क्रसले ३९ रन, कप्तान रिची वेरिङटोनले ४० र माइकल लिस्कले १८ रन बनाए ।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

सिरिजको दोस्रो खेलमा नेपालले बुधबार नेदरल्यान्डविरुद्ध खेल्नेछ ।

लिग–२ मा नेपालले तेस्रो जित हात पारेको हो । जितसँगै नेपाल अंक तालिकाको सातौँ स्थानमा उक्लेको छ । लिगको १३ खेलमा नेपालले ३ खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँडेकाे थियाे ।

२० खेलबाट २६ अंक बनाएको नेदरल्यान्ड २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ ।

लिग–२ मा स्कटल्यान्डविरुद्ध नेपालको लगातार दोस्रो जित हो । यसअघि गत अक्टोबर–नोभेम्बरमा अमेरिकाको डालासमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार