काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरिना स्टेडियममा भएको फाइनलमा इन्टर मिलानलाई ५-० गोलअन्तरले पराजित गर्दै पीएसजीले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
यो सिजनमा ट्रेबल उपाधि जित्न सफल पीएसजीले यसअघि नै लिग वान र फ्रेन्च कपको उपाधि जितेको थियो ।
खेलको १२औँ मिनेटमा असरफ हाकिमीले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २०औँ मिनेटमा डेजिरे डुएले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।
खेलको ६३औँ मिनेटमा डुएले व्यक्तिगत दोस्रो गोल गरे भने ७३औँ मिनेटमा ख्विचा क्वारात्सखेलियाले गोल गर्दै पीएसजीलाई ४-० को अग्रता दिलाए ।
खेलको ८६औँ मिनेटमा सेनी मायुलुले गोल गर्दै पीएसजीलाई ५-० को फराकिलो जित दिलाएका हुन् ।

