म्याग्दी । अन्नपूर्ण आधार शिविरमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएकाे हाे ।
अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको हीरक महोत्सवका अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले जेठ २० गते म्याराथन दौड प्रतियोगिता आयोजना गर्नेछ ।
म्याराथन दौड ३० किलोमिटर लामो हुनेछ । अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरबाट नारच्याङ गाउँसम्म म्याराथन दौड प्रतियोगिता सञ्चालन हुनेछ ।
म्याराथन प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिनेछ ।
हिरक महाेत्सव जेठ १६ देखि २१ गतेसम्म विविध कार्यक्रमसहित मनाइने छ ।
आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिनेछ । यसका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङदेखि आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको समेत उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।
सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए ।

