काठमाडौँ । रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
बिहीबार बिहान पौने ११ बजे खाँडादेवी गाउँपालिका-३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको प्रप्र.३- ०१-००२ झ ५८०३ नं. को एम्बुलेन्स ओरालोमा सडकबाट १०० मिटर तल झरेको हो । उक्त गाडीमा सवार चार जनामध्ये तीन जना घाइते भएका हुन् । एम्बुलेन्स र शव सडकमै राखिएको छ ।
एम्बुलेन्स चालक रामेछाप दोरम्वाशैलुङ्ग-३ बस्ने २४ वर्षीय सुरेश मगर, रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका-२ बस्ने ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई घाइते छन् । घाइतेहरूलाई अर्को एम्बुलेन्समा राखेर धुलिखेलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

