दार्चुला । दार्चुला जिल्लाको ४,००० मिटर उचाइमा रहेकाे अपिहिमाल बेसक्याम्पमा योग ध्यान शिविर सञ्चालन गरिने भएको छ । अपिहिमाल गाउँपालिकाको आयोजनामा जेठ १६ गते अपिहिमाल बेसक्याम्पमा योग ध्यान शिविर गर्न लागिएकाे हाे ।
स्थानीय पर्यटन प्रवर्द्धन तथा क्षेत्रलाई आध्यात्मिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले सो शिविर आयोजना गर्न लागिएको हाे । अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले अपिहिमाल प्राकृतिक सौन्दर्य, शान्त वातावरण, शुद्ध हावा र हिमाली परिवेशले भरिपूर्ण क्षेत्र भएकाले यहाँ योग, ध्यान तथा मानसिक सन्तुलनका लागि अत्यन्त उपयुक्त वातावरण रहेको बताए ।

शिविरमा प्रशिक्षकका रूपमा योग गुरु तथा सञ्चारकर्मी सिमोन न्यौपाने रहनेछन् ।
अपिहिमाल बेसक्याम्पमा योग ध्यान शिविर हुनुगाडि जेठ १२ र १३ गते गाउँपालिका परिसरमै विविध जागरण कार्यक्रमहरूमार्फत योग, ध्यान र स्वस्थ जीवनशैलीको महत्व दर्शाउने कार्यक्रमहरू सञ्चालन गरिनेछ । यस अवसरमा ‘स्वस्थ जीवन, खुशी जीवन र क्षमतावृद्धि’ विषयमा विशेष कार्यक्रम पनि आयोजना गरिनेछ, जसलाई नेपाल सरकार सह-सचिव राजन पौडेल, योग प्रशिक्षक न्यौपाने र अध्यक्ष बोहराले सञ्चालन गर्नेछन् ।
गाउँपालिकाका अध्यक्ष बोहराले शिविरमा पालिकाका जनप्रतिनिधि, स्थानीय बासिन्दा, पर्यटक र अन्य इच्छुक व्यक्तिहरूको सहभागिता रहने बताए ।
दार्चुला जिल्लाकाे अपिहिमाल गाउँपालिकामा अवस्थित ७,१३२ मिटर उचाइमा रहेको अपिहिमाल पर्यटकिय गन्तव्यका रूपमा चिनिदै आएकाे छ । पछिल्लाे समय यहाँ स्थानीय र अन्तर्राष्ट्रिय पर्यटकहरू ट्रेकिङ तथा पर्वतारोहण गर्नेहरूकाे संख्या बढ्दै गइरहेकाे छ ।

पालिका अध्यक्ष बोहराले अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजना बनाइएको र पर्यटकका लागि आवश्यक पर्ने आवाससहितका होटल तथा होमस्टेहरूको विस्तार गरिएको बताए ।अध्यक्ष बोहराले भने, ‘हामीले अपिहिमाल आउने पर्यटकका लागि बेसक्याम्पसम्म पुग्दा र फर्कंदा आवश्यक पर्ने सेवा तथा सुविधामा कुनै कमी हुन दिने छैनौँ ।’
याे शिविरले अपिहिमाल क्षेत्रलाई योग, ध्यान तथा पदयात्राको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यमा टेवा पुर्याउने आयोजकको विश्वास छ ।

