काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी सावित्रा भण्डारी (साम्बा)को सम्मानमा उनकाे गृहजिल्ला लमजुङमा ‘साम्बाचोक’ नाम राखिएकाे छ ।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका –९ स्थित खुदीबजार चोककाे नाम साम्बाचाेक राखिनुका साथै उनकाे स्तम्भ निर्माण गरिएकाे हाे ।
निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ्गले सोमबार उद्घाटन गरेका छन् । कार्यक्रममा साम्बाका बुवाआमालाई माला लगाइदिएर सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वडा अध्यक्ष हरिसचन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपतिलगायत स्थानीयसमेतको उपस्थिति रहेको थियो ।
नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार साम्बा पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित छिन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एन आभान गेङगाङ्पमा आवद्ध छिन् ।

