काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ। ८२ वर्षीय बाइडेनको स्वास्थ्य अवस्थाको बारेमा आइतबार उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै क्यान्सर हड्डीसम्म फैलिएको जानकारी दिएको छ ।
बाइडेन गत हप्ता पिसाबसँग सम्बन्धित लक्षणहरू देखिएपछि आफ्नो स्वास्थ्य परीक्षण गराउन डाक्टरकहाँ गएका थिए । परीक्षणपछि उनलाई क्यान्सर भएको भएको पत्ता लागेको हो । उनको क्यान्सरलाई ‘हाइ ग्रेड’ क्यान्सरका रूपमा वर्गीकृत गरिएको छ। क्यान्सर रिसर्च यूकेका अनुसार, यस प्रकारको क्यान्सर कोषहरू तीव्र गतिमा शरीरमा फैलिन सक्छन् ।
विज्ञहरूले यस्तो अवस्थामा हार्मोन थेरापी, केमोथेरापी र केही अवस्थामा हड्डी लक्षित उपचार प्रभावकारी हुने बताएका छन् । उनको स्वास्थ्य सम्बन्धमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि यो रोगको बढी आक्रामक रूप हो, यो हर्मोन संवेदनशील देखिन्छ, जसले गर्दा यसको प्रभावकारी उपचार सम्भव भएको छ ।’ उनको परिवारले उपचार विधिहरूको बारेमा डाक्टरहरूसँग परामर्श गरिरहेको बताइएकाे छ ।
बाइडेनको क्यान्सरको खबर सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पतिक्रिया व्यक्त गरेका छन् ।
ट्रम्पले लेखेका छन्, ‘जो बाइडेनको हालैको स्वास्थ्यको बारेमा सुनेर मेलानिया र म दुःखी छौं । उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’
यस्तै, बाइडेनकी सहयोगी तथा उनको कार्यकालमा उपराष्ट्रपति रहेकी कमला ह्यारिसले पनि बाइडेनलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उनले एक्समा लेखेकी छन्, ‘उहाँ एक योद्धा हुनुहुन्छ र मलाई थाहा छ उहाँले यो चुनौतीको सामना उही शक्ति, दृढ संकल्प र आशावादका साथ गर्नुहुनेछ जुन सधैं उहाँको जीवन र नेतृत्वलाई परिभाषित गर्दै आएको छ। हामी उहाँको पूर्ण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

