नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा

spot_img

काठमाडौँ । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकपकाे ग्लोबल छनोटमा पुगेको छ ।

साेमबार भएकाे ‘सुपर थ्री’को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै नेपाल टी-२० विश्वकपकाे ग्लोबल छनोटमा पुगेकाे हो ।

सुपर थ्रीअन्तर्गत नेपालले मंगलबार अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ ।

अब विश्वकप पुग्न नेपालले अन्तिम चरणको छनोट खेल्नेछ। ग्लोबल छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । १० मध्ये ४ टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।‍

साेमबार भएकाे खेलमा यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ३४ रन बनाइन् । उनले २८ बलमा २ चौका प्रहार गरिन् ।

अलराउन्डर रुबिना क्षेत्रीले १८ बलमा २३ रन जाेडिन । ओपनर सम्झना खड्काले २१ र पूजा महतोले १३ रन बनाइन् ।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा ११४ रन जोड्यो ।

युएईका लागि कप्तान तथा ओपनर इशा वजाले ३९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडिन् । अर्की ओपनर तथा विकेटकिपर तीर्था सतिशले ३२ बलमा २१ बनाइन् भने लाभान्या केनीले १२ रनको योगदान दिइन्। यस्तै हीनाले २० रनको योगदान गरिन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार