नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)काे कावासोती नगरपालिकाभित्र भ्रष्टाचार भएको भन्दै विभिन्न राजनीतिक दल तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले कारवाहीको माग गरेका छन् ।
नगरको प्रमुख प्रशासकिय अधिकृत र संस्थाको कर्मचारीको सामुहिक रूपमा नियुक्ति दिलाई कर्मचारी भर्ना गरिएको र शहरी शासकिय परियोजनामा २० लाख रुपैयाँको अनियमितता भएकाे भन्दै कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
स्थानीय युवासहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी नयाँ शक्ति, भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान, नागरिक बचाऊ अभियानका प्रतिनिधिहरूले बुझाएको ज्ञापन पत्रमा लेखिएको छ, ‘बिना सूचन, बिना प्रतिस्पर्धा, निजामति सेवा ऐन, नियमावली, कानुन कार्यविधि र निर्देशिका बमेजिम नगरी नेपाली जनताको सूचनाको हकलाई लत्याएर आर्थिक चलखेल गरी ठूला संख्यामा सोझै नियुक्ति दिइ हाजिर गराई तलबभत्ता दिने काम गरिएको प्रति घोर भर्त्सना गरिन्छ।’
ज्ञापनपत्रमा सोझै नियुक्ति दिइएका कर्मचारीहरूको नियुक्ति खारेज गरी पुनःनीति नियम, प्रक्रियाद्वारा अर्को सूचना टाँस गरी कर्मचारी नियुक्ति गर्नुपर्ने माग समेत राखीएकाे छ ।



